जागिर छाडेरै उज्वल बने सफल व्यवसायी, मासिक डेढ लाख मुनाफा कमाउँछन् ।

‘आफू कुन व्यवसाय गर्ने हो त्यसबारे अध्ययन गर्नु जरुरी छ ।'

चावहिल चुच्चेपाटीमा अवस्थित केएल टावरको चौथो तलामा पुगेपछि एउटा सिँगारिएको गेट देखिन्छ । परैबाट देख्न सकिन्छ गेटभित्रको दृश्य । गेटनजिकै पुगेपछि लाग्छ, म एउटा सुन्दर स्कुलभित्र पस्दैछु । शुर्‍याकमा जुत्ता राखेर कार्पेट विछ्याइएको कोठामा प्रवेश गर्दा बेग्लै आनन्द आउँछ । जता हेरेपनि बालबालिकाका लागि खेल्ने व्यवस्था, साना नानीहरु रमाउने विभिन्न शारीरिक खेलहरु । यो हो, उज्वल भुजेलको सपना लिटल पिपल को प्रसंग ।

यहाँ दैनिक सयौं बालबालिका आउने र रमाउने गर्छन् । आफ्ना अभिभावकसँगै आउने नानीहरुले यहाँ खेलेवापत प्रतिघण्टा २ सय रुपैयाँ तिर्नुपर्छ । स्कुलको समुह नै ल्याउँदा भने ५० प्रतिशत छुट छ । लिटल पिपलको पहिलो दिन सम्झिँदै उज्वल भन्छन्, ‘पहिलो दिन त भ्याइनभ्याइ भएको थियो । हामी ४–५ जनाले पनि व्यवस्थापन गर्न हम्मेहम्मे परेको । हामीले त्यस्तै १ लाख आम्दानी गरेका थियौं पहिलो दिनमा नै । उज्वलको यो सपनाको कुरा गर्दा हामी उज्वलका संघर्षका कुरा खोज्दैछौं । लिटल पिपल सुरु गरेको पहिलो दिनमा नै १ लाख आम्दानी गरेका उज्वलको जीवनमा पैसा रित्तिएर अप्ठेरो परेका दिन पनि थिए । त्यतिबेला उज्वल जागिरमा थिए । उनी नेपाली सेनामा सेवारत थिए । एक दिन उनी साथीसँग खाजा खाने कुरा भयो । उनीसँग साथमा पैसा थिएन, बैंकमा पनि थिएन, तलब पनि आएको थिएन । सोचे, ‘साथीसँग पक्कै पैसा छ होला ।’ उनीहरु गए नजिकैको रेष्टुरेण्टमा ।खाजा खाएपछि जब पैसा तिर्ने बेला भयो उनी मौन बसे किनकि उनको पर्स मौन थियो । संयोग कस्तो भएछ भने उनले जे सोचेका थिए साथीले पनि ठ्याक्कै त्यही सोचेका रहेछन् । अन्ततः उज्वलले मुख खोले, ‘मसँग त पैसा छैन यार’ । अनि, उनीहरुले अफिसमा साथीलाई फोन गरेर पैसा मगाए । जागिरबाट तलब पनि नआएको र अन्य आम्दानी वा बचत केही नभएका कारण उनीजस्तैको दैनिकीमा यस्तै घटना हुनु स्वभाविक झैँ लाग्छ । 

यस्तो जीवन पनि भोगेका उज्वल कसरी बने त सफल व्यवसायी ? उनको कथातिर लागौं ।

३१ वर्षका उज्वलको जन्म सिन्धुपाल्चोकको जलविरेमा भएको हो । भक्तपुरमा हुर्केका उनको बाल्यकाल सुखद नै रह्यो । सात वर्षको उमेरमा उनी भक्तपुर बसाइँ सरे । दिदीसँग बसेर अध्ययन गर्नका लागि । बजारमा पसलहरु देख्दा उज्वललाई लाग्थ्यो, ‘यस्तै पसल चलाउन पाए, यसरी नै व्यवसाय गर्न पाए ।’ त्यतिबेला उनी कक्षा ८ मा पढ्थे ।यस्तो रहर पालेका उज्वललाई समयले नेपाली सेना बनायो । एक दशक अगाडि उनले मलेसिया जाने अवसर पाए, जागिरकै सिलसिलामा । त्यतिबेला उनले त्यहाँ बालबालिका खेलिरहेका देखे, त्यो यस्तो रमाउने स्थल थियो बालबालिकाका लागि जहाँ निश्चित शुल्क तिरेर प्रवेश पाइन्थ्यो । उनको मनमा आइडिया क्लिक भयो, ‘यस्तै ठाउँ नेपालमा पनि बनाउन पाए त हुने नि’ । यस्तै व्यवसाय नेपालमा पनि सुरु गर्न सकिन्छ भन्ने लागेपछि उनले गुगल गरे, सम्भाव्यता अध्ययनका लागि । अनि, उनले नाम जुराए, लिटल पिपल । आफैं केही सिर्जनात्मक काम गर्नुपर्छ । व्यवसाय गर्नुपर्छ । यस्तै भावनाले आर्मी क्याम्पबाट धकेलेर उनलाई व्यवसायको दुनियाँमा ल्यायो । उनले १२ कक्षा पास गरेका छन् । उनलाई लाग्छ, किताब पढ्ने र घुम्ने काम गर्नु जरुरी छ सिक्नका लागि । कल्पना गर्नसक्ने सृजनशील दिमाग र सपना देखाउने किताब चाहिन्छ नै । उनको व्यवसायी वन्ने सपना चाहिँ किताब पढाइले नै निर्माण गरेको हो । रोवर्ट कियोसाकी, ज्याकमाका किताब पढेपछि उज्वलको दिमागमा व्यवसायको सपना जागेको थियो । उनी भन्छन्, ‘आफू कुन व्यवसाय गर्ने हो त्यसबारे अध्ययन गर्नु जरुरी छ । घुमेर पनि सिक्नुपर्छ । आफूले नजानी त व्यवसायमा होमिनु हुँदैन ।’

१० वर्ष नेपाली सेनामा काम गरेका उनी बताउँछन्, ‘जागिरको सिलसिलामा सिकेका सीप र अवसरले आज धेरै नै सघाएको छ’। सेनामा रहँदा घुम्ने अवसर पाएकै कारण यो सोच निर्माण भयो । १० वर्षको सेनाको जागिरलाई अवसर र उपलब्धि दुवै मान्छन् उनी । तर पनि उनी जागिरमा रमाउन सकेनन् र व्यवसायमा होमिए । उनी भन्छन्, ‘साथीभाइसँग रमाइलै थियो छन त तहा पनि’ । सेवामा हुँदाहुँदै उनले व्यवसायमा लगानी गरेका थिए । त्यतिबेला उनको भाइले व्यवसाय हेर्थे । जागिरभन्दा व्यापार वेश भन्ने पक्षमा उभिएका उनी भन्छन्, ‘व्यापार वेश हो तर आफू एकदम धेरै खट्नुपर्छ’। नियमित आम्दानी हुने जागिर त्यागेर व्यवसायमा आउँदा कुनै ग्लानि छैन उनलाई । ८ वर्ष भयो उनले व्यवसाय सुरु गरेको । उनी आफैं फुलटाइम लागेको चाहिँ २ वर्ष भयो । पहिले चाहिँ पार्ट टाइम समय दिन्थे । उनी यो व्यवसायमा दुःख नै मान्दैनन् । भन्छन्, ‘दुःख त केही छैन । आजसम्म केही अप्ठेरो परेको छैन ।’ लाग्छ, उनी खुसी र सुखी युवा हुन् । अवसरै अवसर पाएका उनी भन्छन्, ‘आजसम्म रुनु परेको छैन जीवनमा’। लिटल पिपलमा २ जना कर्मचारी छन् । सेवाग्राहीसँग राम्रो कारोबार छ । लकडाउनको संकटले केही असहज बनाए पनि सामान्य अवस्थामा मासिक डेढ लाख मुनाफा कमाउँछन् लिटल पिपलबाट । विदाको दिनमा र चावपर्वका समयमा यहाँ भीड हुन्छ । उनी सुनाउँछन्, ‘यहाँभित्र १ सय जनासम्म अट्छन् । बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म जतिबेला पनि प्रवेश पाइन्छ ।’

उज्वल भावुक हुन्छन् । बालबालिकाले रमाउँदै खेलेको देख्दा आफूले बाल्यकालमा खेल्न रमाउन नपाएको सम्झिन पुग्छन् । अहिले बालबालिकाले रमाएको देख्दा आनन्दित हुन्छन् । २५ लाखको लगानीबाट सुरु गरेका उनले सुरुको लगानीको ५० प्रतिशत चाहिँ ऋण नै लिएका थिए । अहिले त्यो चुक्ता गरिसके । हाल उनी शाखाहरु खोल्ने अध्ययनमा छन् । ‘कमाएको पैसा यसैमा लगानी गर्छु’ उनी भन्छन् । केटाकेटी खेल्ने, रमाउने ठाउँ बनाउने नै उनको रहर छ । उनी सपना सुनाउँछन्, ‘यहाँ पनि केही नयाँ खेलहरु थप्छु । किताब पढ्ने कर्नर पनि बनाउँछु । खेल्दै पढ्ने, पढ्दै खेल्ने र सिक्ने ठाउँ बनाउँछु । ’लायन्स क्लबमा आवद्ध उनी केही समय अघि यूरोप टुर जान पाए । त्यतिबेला झन् राम्रो यस्तै ठाउँ देखे । नयाँ नयाँ खेलहरु थाहा पाए । उनी त्यसलाई पनि नेपालमा ल्याउने धूनमा छन् ।  

नरेन्द्रकुमार नगरकोटी

Share Now