बालबालिकाको नजिकको साथी

बाल उदय पत्रिका

        निरन्तर, नियमित, नजिकैबाट, निःशुल्क, निशर्त, नभने पनि सहयोग गरिरहनुहुने हृदयहरुकै ढुकढुकीले बाल उदयको सिकाइ अभियान बाँचेको हो । हाल उमेर, रुचि र आवश्यकताका आधारमा बालकिताब सिफारिस गरिरहेका छौं ।

     एक जना शिक्षा अधिकारीले मलाई प्रश्न गर्नुभयोे, ‘तपाईं किन यस्तो काममा लाग्नुभएको ?’ मैले चुपचाप उहाँको अनुहारमा हेरिरहेपछि उहाँले फेरि थप कुरा राख्नुभयो, ‘न पैसा छ यो काममा, न व्यापार गर्न नै सजिलो छ । पैसा कमाउनका लागि त अन्य धेरै क्षेत्रहरु छन्, तपाईंजस्तो व्यक्तिका लागि । ’म उहाँसँग हाम्रो अभियान बारे छलफल गर्न गएको थिएँ, तर मौन फर्किउँ जस्तो लागिरहेको थियो । मेरो मुखबाट यस्तो जवाफ फर्कियो, ‘सरले राख्नुभएको विचारका लागि धन्यवाद ! तर मैले यो जे काम गरिरहेको छु नि सर, यही काम नै तपाईंको प्रश्नको जवाफ हो । ’मेरो कुराबाट उहाँले के बुझ्नु भयो या बुझ्नु भएन म जान्दिनँ किनभने उहाँलाई धन्यवाद भनेर म निस्किहालेँ।

     बाल उदय मासिक बालपत्रिकाको सिकाइ अभियान हरेक पालिकाका स्कुलहरुमा सञ्चालनका लागि अनुरोध गर्न जाँदा यसरी प्रतिक्रिया भोगेको कुरा सम्झिँदा यो काम सजिलो चाहिँ होइन नै भन्ने लागेको छ । हामीले के गथ्र्यौं भने, बाल उदय नियमित रुपमा केही प्रतिको सदस्यता विस्तार भएको स्कुलमा विभिन्न कार्यशाला र कार्यक्रम गथ्र्यौं । त्यो पनि, निःशुल्क । कुनै पनि शुल्क लाग्दैनथ्यो । एक प्रति पत्रिकाको वार्षिक सदस्यता शुल्क पनि त्यतिबेला जम्मा ५ सय थियो । हामीले सबै बालबालिकाका लागि सिर्जनात्मक लेखन कार्यशाला सञ्चालन गथ्र्यौं । लेख्न, पढ्न र सिर्जना गर्न कठिनाइ भोगिरहेका बालबालिकाका लागि हामी उत्प्रेरणा दिने प्रयास गथ्र्यौं । पठन संस्कृति छैन वा बालबालिकाले पढ्दैनन् भन्ने मान्यता भत्काउन लागिपथ्र्यौं । त्यसका लागि बालबालिकालाई किताब पढ्न रुचि र रहर जाग्ने गरी पठन कार्यशाला आयोजना गथ्र्यौं । बालबालिकाले उपाय पाउनुहुन्थ्यो, हामी उहाँहरुको उत्साहले खुसी हुन्थ्यौं । यो हाम्रो अनुभव हो । हामी रिडर्स क्लब गठन गरी क्लबलाई अगाडि बढाउने योजना बनाउन लगाउँथ्यौं । शिक्षकहरुका लागि र अभिभावकका लागि पनि सिकाइ प्रभावकारी बनाउनका लागि लक्षित कार्यशाला सञ्चालन गथ्र्यौं । यी सबै काम हाम्रो बाल उदय टिमका साथीहरुको स्वयम्सेवी भावनाले सम्भव हुन्थ्यो । आजका दिनमा पनि हामी त्यस्तै कार्यक्रमहरु सञ्चालन गर्ने प्रयासका लागि तयारीसाथ प्रतीक्षारत छौं ।

     हाम्रो चियागफमा के कुराले प्रमुख स्थान ग्रहण गर्छ ? यो प्रश्नको उत्तरले अगाडिको यात्राका लागि बाटो खन्छ । मेरो अनुभवले यसो भन्छ । बालपत्रिका प्रकाशनको योजना बनाउँदै चियागफमा साथीहरुसँग छलफल गरेको एक दशक अघिको स्मृति पनि आजको लागि सम्झनलायक सम्पति भएको छ । पटकपटक यस्ता चिया बैठकहरु सम्पन्न भए । पत्रिकासँगको नाता स्कुल पढ्दादेखि नै बसेको हो । स्कुल पढ्दाताका साथीहरु मिलेर भित्तेपत्रिका प्रकाशन गथ्र्यौं । चार्टपेपरमा हस्तलिखित सामाग्रीहरुसहित पत्रिका डिजाइन गथ्र्यौं । लेखन, सम्पादन, डिजाइन सबै काम हामी साथीसाथी मिलेर गथ्र्यौं । एस्एल्सीको परीक्षा दिएपछि शिक्षण कार्यमा संलग्न भएँ । उक्त जागिरबाट कमाएको तलब नै खर्चिएर त्रिवेणी नामक साहित्यिक पत्रिका निकालेको प्रसङ्ग सम्झिँदा आफैंलाई कथाजस्तै लाग्छ । साहित्यिक मित्रहरुसँग मिलेर बुकी नामक साहित्यिक पत्रिका पनि प्रकाशन गर्‍यौं । स्कुल प्रिन्सिपलको भुमिकामा रहँदा स्कुलकै नाममा पत्रिका प्रकाशन प्रारम्भ गरेर निरन्तर काम गर्ने वातावरण नबनेको तीतोपन पनि मनको कुनामा छ ।

पत्रिका प्रकाशनसँग यसरी निरन्तर नाता गाँसिदै आएको थियो । बालपत्रिका प्रकाशन गर्ने अठोट मनको एउटा कोठामा बास बसिरहेको थियो । बजारमा विभिन्न खाले बालपत्रिकाहरु उदाउँदै अस्ताउँदै गरेको इतिहास साक्षी छ । मैले देखेको पनि हुँ । सुनेको पनि हुँ । बालपत्रिका प्रकाशन भए पनि टिकाउन नसकिने काम हो भन्ने सुनेको हुँ । तर मलाई किन किन मनमा लागिरहन्थ्यो, यो चाहिँ गर्नैपर्ने काम हो । बालपत्रिका प्रकाशनको काम असम्भव काम हो भन्नेहरुलाई, ‘यो सम्भव छ, सम्भव मात्र होइन अति आवश्यक पनि छ’ भन्ने कुरा स्थापित गरेर देखाउनु पनि थियो/छ ।

      ‘केटाकेटीका लागि काम गर्ने रहर त मेरो पनि हो तर सकिन्नँ’, धेरैले यसो भन्नुभयो । ‘किन होला यस्तो ?’ भन्ने लागिरहन्थ्यो । बालपत्रिका प्रकाशनको काम त झन् गर्दै नगरे हुन्थ्यो भन्ने आशय पनि धेरै जनाबाट प्राप्त गरेँ । ‘गर्नू तर आर्थिक रुपमा चाहिँ नफस्नू है’ भन्ने शुभचिन्तकहरु पनि हुनुहुन्छ । ‘एकदम राम्रो काम हो । अगाडि बढ्नू ।’ भन्ने तर सहयोग चाहिँ नगर्ने पनि भेटेकै छु । निरन्तर, नियमित, नजिकैबाट, निःशुल्क, निशर्त, नभने पनि सहयोग गरिरहनुहुने हृदयहरुकै ढुकढुकीले बाल उदयको अभियान बाँचेको हो । ‘केटाकेटीहरु पढ्दैनन्’ भन्ने मान्यता नै गलत छ । उनीहरु पढ्न चाहन्छन्, राम्रा र रमाइला सामाग्रीको पहुँच बनाउनु जरुरी छ भन्ने लागिरहन्छ । बालबालिकाका लागि निरन्तर पठनीय सामाग्री प्रकाशन गर्ने मनसाय अन्तरहृदयमा थियो । गुणस्तरीय काम गर्ने सपना आँखामा छाएको धेरै भएको थियो । एकातिर बालबालिकाले पढ्न छाडिसके भन्ने कुरा असत्य साबित गराउनु थियो । अर्कातिर कस्तो बालपत्रिका वा कस्तो बालपठनसामाग्री आवश्यक छ भन्ने सन्दर्भमा एउटा सकारात्मक पहल गर्ने अभिलाषा थियो । पत्रिका दर्ता भयो । बाल उदय मासिक बालपत्रिका प्रकाशनको तयारी सुरु भयो । 

      पत्रिका प्रकाशन, सम्पादन, वितरण र सञ्चालनको अनुभव भएकाहरुसँग भेटेरै छलफल गरेँ । सबैबाट सकारात्मक उर्जा प्राप्त गरेँ तर टिकाउने कसरी भन्ने कुरा नै प्रमुख हो भन्ने कुरा आयो । यसको मूल जरा थियो, आर्थिक पक्ष । म सोच्थेँ, ‘दश हजार जनाले एक–एक हजार वा एक हजार जनाले दश–दश हजार दिनुभए पनि १ करोड हुन्छ । अभियान मज्जाले चल्छ ।’ तर सोचेजस्तो कहाँ भइहाल्छ र ! प्रवेशांक हामीले दुई हजार प्रति प्रकाशन गरेका थियौं । एक हजार प्रति त खुद्रा विक्री नै भयो । तर, के भयो भने पत्रिका प्रकाशनमा एक प्रतिका लागि लागत ६५–७० रुपैयाँ हुँदा पनि हामीले यसको बजार मूल्य ५० राखेका थियौं । सदस्य बन्दा वा खरीद गर्दा करीब ४० पर्न जान्थ्यो । महंगो हुँदा बालबालिकालाई सदस्य बन्न नि कठिनाइ पर्ला भन्ने सोच्यौं । हामीले सोचेका थियौं, विज्ञापनबाट आम्दानी गर्न सकौंला । आम्दानी नभएको पनि होइन तर पुग्नेजति आम्दानी हुन सकेन । तर पनि हामीले पाएको सकारात्मक सहयोग र सहकार्यले उर्जा दिइरह्यो । नियमित हुन मुस्किल भए पनि निरन्तर पत्रिका प्रकाशन गर्ने हाम्रो प्रण थियो, छ र अझै छ । त्यसमा लागिरह्यौं । एक हजार प्रति त बजारमा सजिलै जान्छ होला भन्ने लाग्थ्यो । तर, हामीले सुरुमा २ हजार प्रति पत्रिका प्रकाशन गरेकोमा हाल २ हजारभन्दा बढी पत्रिका त वार्षिक सदस्यताबाट नै बजारमा जान्छ । आजीवन सदस्य ६५ जना हुनुहुन्छ । २५० स्कुलसँग सिकाइ अभियानमा सहकार्य गरिरहेका छौं । पूर्वमा इलाम, झापादेखि पश्चिममा कैलाली, जुम्लासम्म पत्रिका पुग्छ । बैंक, वित्तिय संस्था, सरकारी एवम् गैरसरकारी संस्थाहरुसँग पनि नियमित सहकार्यका प्रयत्नहरु भइरहेका छन् । 

        बालपत्रिका प्रकाशनका लागि सर्वप्रथम त ‘पत्रिका किन प्रकाशन गर्ने ?’ यो प्रश्नको उत्तर पहिल्याउनु जरुरी हुन्छ । हामीले पनि यसमा छलफल अनि तयारी गर्‍यौं। यसमा केकस्ता सामाग्री समावेश गर्ने वा नगर्ने ? यो महत्वपूर्ण पाटो हो भन्नेमा हामी प्रष्ट थियौं । बालपत्रिका भएका कारण कुनै पनि हिसाबले बालबालिकाका लागि विषजन्य सामाग्री बन्देज गर्नुपर्छ भन्ने कुरामा अडान लिने प्रयास गर्‍यौं। बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राखेर स्वस्थ बन्न सघाउने सामाग्री प्रकाशन गर्ने कुरामा ध्यान दियौं । विज्ञान र प्रविधिमा जोड दियौं । बालबालिकामा वैज्ञानिक सोच, चिन्तन र सिर्जनशीलता विकास गराउने कुरामा प्राथमिकता दियौं । बालबालिकाको आत्मविश्वास बढाउने र उहाँहरुको आफ्नै कुरा राख्न पाउने चौतारीका रुपमा बाल उदय उहाँहरुकै पत्रिका बनाउने सोचबमोजिम काम जारी राख्यौं । 

       हाल बाल किताब अभियान लिएर बजारमा गइरहेका छौं । उमेर, रुचि र आवश्यकताका आधारमा बालकिताब सिफारिस गरिरहेका छौं ।बालबालिकाका लागि, बालबालिकासँगै काम गर्ने हाम्रो सपना जीवित छ । हाम्रो यात्रा जारी छ । हामी सिकाइ अभियान लिएर नवीन किसिमले फेरि निस्किँदैछौं । तपाईं हाम्रा बालबालिकालाई सघाउनुपर्यो भने हामीलाई सम्झिने ठेगानाहरुः

इमेल 

baal.uday@gmail.com

baalkitaab@gmail.com

https://www.bpazes.com/d/baal-uday-1559

नरेन्द्रकुमार नगरकोटी

Share Now