भरिया हुँदै हिमालयन ट्रेकर्स सञ्चालकसम्म

राज धमलाको संघर्षमय कथा

घरेलु श्रमिक राजकुमार कसरी बने सफल पर्यटन व्यवसायी ?

भरिया हुँदै हिमालयन ट्रेकर्स सञ्चालकसम्मः राज धमलाको संघर्षमय कथा

https://bpazes.com/d/himalayan-trekkers-p-ltd-1257 

बिहानको ४ बजेको थियो । १२ वर्षको केटो आँखा मिच्दै ओछ्यानबाट उठ्यो । उठ्नेवित्तिकै घर सरसफाई गर्यो । पकाउनका लागि तरकारी तयार पार्यो र मालिकलाई ‘बेड टी’ पुर्याएर बिहानको ६ बजे स्कुल गयो ।

ऊ बस्ने घर ठूलो थियो । परिवार पनि ठूलो र घरको एरिया पनि फराकिलो । घरायसी कामको जिम्मा उही केटोको हुन्थ्यो । घरमा पारिवारीक भेटघाट, आवतजावत बाक्लो हुन्थ्यो । त्यसकारण हरेक दिन ऊ अत्यन्तै व्यस्त हुन्थ्यो । हरेक दिनको व्यस्तता रातको ११–१२ बजेसम्म हुन्थ्यो ।

ऊ ११ बजेतिर स्कुलबाट घर फर्कन्थ्यो । खाना खाएपछि कपडा धुने, घरको सरसफाइ गर्ने लगायत घरायसी कामहरु सक्नुपथ्र्यो । बेलुकाको खाना पनि उसले नै पकाउनुपथ्र्यो । घरका डेढ–२ वर्ष, ३–४ वर्षका बालबच्चाको हेरविचार गर्ने जिम्मा पनि उसको नै थियो । 

जाडो होस् या गर्मी, दैनिकी यस्तै हुन्थ्यो । 

धादिङमा जन्मिएका राजकुमार धमलाको बाल्यकालको सत्यघटना हो यो । 

हाल उनी पर्यटन व्यवसायमा राज धमलाको नामले परिचित छन् । डार्क स्टोरी छिचोलेर जीवनको उज्यालो भेट्टाइसकेका उनलाई भेट्न ठमेल जानुपर्ने हुन्छ । उनले आफैं सञ्चालन गरिरहेको हिमालयन ट्रेकर्स (himalayantrekkers.com )को अफिसमा । 

घरेलु मजदुर भएर काम गर्दाको अनुभव सुनाउँदा पनि उनी उज्यालिएर बोल्छन्, ‘दिक्क लाग्थ्यो कहिले त । श्रममा सुख त हुने कुरै भएन । अझ बालमस्तिष्क, बाल आवश्यकता, रहर र बाल चेतनाको कुरा फरक हुने नै भयो ।’ जीवनको दुःखलाई पनि सकारात्मक रुपमा लिने उनको चिन्तन छ । कामको दुक्खबाहेक उनले यातना चाहिँ भोग्नु परेन । उनी भन्छन्, ‘बालश्रमिक बन्नु मेरो आवश्यकता थियो । नियम, कानुन र राज्यले अभिभावकको भूमिका खेलेको खै ?’

संघर्ष गर्दा नआत्तिनू, जिन्दगी यात्रा हो, घुम्तीहरुमा अत्यन्त कठिन परिस्थिति पनि आउनसक्छ । उनले जीवनमा सिकेको कुरा हो यो ।

उनलाई त्यतिखेर रमाइलो त लाग्दैनथ्यो । पीडा पनि थियो तर उनको निष्कर्ष छ, ‘सभ्यता र ज्ञान सिक्ने अवसर पाएँ ।’

‘बाल्यकाल अत्यन्तै दुःखद रह्यो ।’ उनी सुनाउँछन्, ‘बुबा पनि सानैमा छुट्ट भिन्न हुनुभएको थियो । बुबाआमाको बिहे पनि सानै उमेरमा भएको रहेछ । अनि, १४–१५ वर्षको उमेरमा बुबा भारत लाग्नुभएछ । पछि, बुबाआमाको सम्बन्ध पनि राम्रो हुन सकेन । म ५–६ वर्षको हुँदा बुबाले अर्को बिहे गर्नुभयो । अनि, म मावलीमा बसेँ ।’

४ र ५ कक्षा पढ्ने समयमा चाहिँ उनी बुबासँग बस्न पुगे । भन्छन्, ‘बुबासँग बसेको त्यत्ति २ वर्ष हो । ५ कक्षा पढेपछि म काठमाडौं आएँ । पाटनमा एउटा घरमा काम गर्न मलाई ल्याइयो ।’ उनले त्यहाँ तीन वर्ष काम गरे ।

कक्षा ६ र ७ पाटनकै चण्डी विद्याश्रममा पढे । कक्षा ८ पाटनमै पाटन हाइस्कुलमा भर्ना भए तर स्कुल जान पाएनन् । धापासीमा पर्यटन व्यवसायमा संलग्न अकंलसँगै बसेर पढ्ने पारिवारीक सल्लाहले उनलाई तान्यो । जतिसुकै राम्रो भएपनि कसैको घरमा काम गरेर बस्न त कसलाई मन हुन्छ र ? उनी पनि तानिएर काकाको घरमा आए ।

हाँडीगाउँमा एक निजी स्कुलमा पढे तर उनी परीक्षामा फेल भए । अंग्रेजी माध्यममा पढ्न परेकाले त्यसो भएको स्वीकार्ने उनी अहिले भने सोही माध्यम भाषाबाट व्यवसायमा स्थापित छन् ।

एक वर्ष खेर गए पनि त्यो भोगाइ र सिकाइको चरण हो भन्ने उनको बुझाइ छ ।

त्यसपछि उनी फेरि मावली फर्किए । उनलाई प्रिय लाग्ने ठाउँ । मावलीमा बस्दा पनि स्कुल ६० प्रतिशत जति मात्र जान पाए । मजदुरी गरे, ज्यालादारी खेतालाका रुपमा काम गरे, खेतीपाती गरे । आफ्नो लागि आफैंले कमाए ।

कापी कलम जोरजाम गर्नका लागि उनी बिहानै ५ बजे उठेर आलु खन्ने, रोप्ने, धान रोप्ने जस्ता काममा जान्थे ।

साढे ५ बजेदेखि ९ बजेसम्म नठगी काम गर्थे, यही शर्तमा काम गर्दा उनी पपुलर पनि भएका थिए । उनी कक्षामा पनि बेलुका गर्ने कामको योजना मनमा बुन्थे ।

उनी भरियाको रुपमा वन जान्थे । गैरकानुनी काम थियो तर ज्यालादारी काम गर्नु उनको बाध्यता थियो । कापी कलम जुटाउन पनि यसो गर्नैपथ्र्यो । उनी दुःख सुनाउँछन्, ‘९–१० बजे राती जानुपथ्र्यो । ५–६ घण्टाको यात्रा, लाइट बाल्न नपाइने, सुराकीबाट बच्नुपर्ने, जनावरको पनि डर हुने । कैयौंपल्ट चप्पल चुँडिएर विजोग भएको छ ।’ 

यस्तो काममा उनका साथीहरु आफूभन्दा अग्रज नै थिए । सिकर्मी काम गर्ने, ठेकेदारी गर्नेहरु साथी भए । उनी भन्छन्, ‘उनीहरु पोख्त थिए, यस्तो धन्दामा । काठको चोरीपैठारी गर्न । मलाई चाहिँ धेरैपल्ट पुलिसले पनि समात्यो । कतिपटक त मानवीय भावले मलाई छुटकारा दियो । स्कुलनजिकै थियो प्रहरी चौकी । मैले भनेँ, मालिक म चिन्दिनँ । यो मेरो बाध्यता हो । जम्मा २०–२५ रुपैयाँ हो एक रातमा कमाउने । त्यो पनि व्याट्रीमा खर्च गर्नैपथ्र्यो ।’

अहिले पनि मालिकसँग पैसा लिन बाँकी छ । उनले यो पैसा दिन नसम्झिनूस् भनेका छन् ।

२०५६ सालमा एसएलसी दिए र काठमाडौं आए ।

जिन्दगीले उनलाई ट्रयाजेडी केमेष्ट्रीसँग मिल्ने बनाइदियो । उनको रुचि थियो रंगमञ्चमा । मुभि फिल्डमा पनि तान्थ्यो भावनाले । काठमाडौंमा बाँच्न काम खोज्दै गर्दा पत्रिकामा फिल्म खेल्ने अवसरको विज्ञापन हेरे । इतिहास नामको फिल्म खेल्न सातदोबाटो गए । तर उनको जीवनको इतिहास यता पनि मीठो बन्न सकेन ।

नयाँ कलाकारसँग २५ हजार डिपोजिट लिने गरेको कुरा भयो । उनको साथमा २५ रुपियाँ पनि थिएन । सपना पूरा गर्न उनी गाउँ फर्के र चर्को व्याजमा ऋण लिए । तर, पैसा जम्मा गरेको केही दिनपछि त्यो टिम नै फरार भयो ।

कलेज पढ्नुपर्ने । करियर बनाउनुपर्ने । चिन्तैचिन्ताले छोप्न थाल्यो ।

‘बाँच्न त जसले पनि बाँच्छ, फरक चाहिँ के त ?’ भन्ने प्रश्न उनको मनमा थियो । सामान्य भए पनि पृथक पहिचान त हुनुपर्छ भन्ने कुराले उनलाई पिरोल्थ्यो ।

बाँच्नका लागि उनले जमलको ज्योति भवनमा क्लिनिङको काम गरे । त्यहाँ पनि उनी ठगीमा परेँ । ओभरटाइमको लोभ दिइएको थियो तर पैसा दिइएन ।  

एकपटक उनी चाउचाउ उद्योगमा काम गर्न पुगे । बिहान २ बजे उठ्ने, १२ बजे सुत्ने र गेटबाट बाहिर निस्किन नपाइने । हावा, पानी, घामको मुख देख्न पनि नपाइने । तलब जम्मा एक हजार । तर त्यहाँ पनि महिनौंको रकम नदिइएको र ५० रुपियाँको दरले ३ पल्ट माग्दा पनि नपाएपछि रिसको आवेगमा ढक तराजु फोहोर फाल्ने कन्टेनरमा फाल्दिए उनले ।

पुलिस केस भयो । यस्तो बालकको श्रम पनि खाने ? भन्ने कुरा मात्रै भयो । पैसा नि पाइएन, उनले काम छाडे ।

एक दिन गाउँले मामाले काममा लगाइदिने कुरा गरे । एभरेष्ट होटलसँग एक जना मान्छेको कनेक्सन छ भन्ने कुरा आयो । लाइफ एकदम राम्रो हुन्छ भन्ने सपना देखाइयो । यहाँ काम गरेपछि त विदेशतिर पनि सजिलै जान्छन् भन्ने कुरा सुनाए । 

उनी सम्झिन्छन्, ‘मलाई माया गर्थे ती गाउँले मामाले । मैले सबै विश्वास गरेँ । तर कुरा के आयो भने, घुस ख्वाउनुपर्छ । नत्र अर्को मान्छे राख्छ ।’ घुस ख्वाउनका लागि एक अर्का गाउँले मामाले ‘तिम्रो भविष्य बन्छ भने, सके तिर नसके नतिर’ भनेर एक तोला बढीको सुनको औंठी दिए । लिउँ कि नलिउँ भैकन पनि उनले लिए । 

एकजना ओभरसियर पढ्न लागेको साथीलाई दिनु भनेर उसकी आमाले पठाउनुभएको एक हजार नगद र सुनको औंठी त्यो मान्छेको हातमा थमाए उनले । काममा लगाइदिने त्यो मान्छे ‘मेनेजरलाई भेटेर कुरा मिलाएर यो डिपोजिट राखेर आउँछु’ भनेर भित्र गयो । ऊ फर्केर आएन । 

निरास भए उनी । भारत गएर पलायन हुने सोचे । उल्लेख्य उपलब्धि भए फर्केर आउँछु भनेर सोच्दै गर्दाको समयमा पर्यटन व्यवसायी अंकलकोमा काम गर्ने एकजना दाइले भरिया खोज्दै रहेछन् ।

दैनिक ७० रुपियाँको दरमा पर्यटन भरियाको रुपमा उनले जाने निधो भयो । उनी गए चिसापनी नगरकोट । तीन दिनका लागि । यो पनि सिजनल पेशा थियो । यसरी भरिया बनेर जाँदा पर्यटकले दिएको टिप्स रकम पनि गाइडले खाइदिएछन् । उनी भन्छन्, ‘मैले पत्तै पाइनँ । यसरी धेरैपटक खाइदिएका छन् । ’

त्यो तीन दिनको कमाइ हात पर्न पनि झण्डै २ महिना लाग्यो । त्यो कमाइ उनले चामल किन्न, स्टोभमा मट्टीतेल हाल्न, कोठामा अतिआवश्यक सामान किन्न खर्चिए । भन्छन्, ‘कोठामा खानेकुरा केही पनि थिएन । नुनतेलमा नै खर्च गरेँ ।’

यो कामले पनि उनलाई उर्जा दिएन । तर, उर्जा चाहिँ आज छ उनको । टिप्स खाइदिने गाइडहरु अहिले, ‘काम छ त भाइ ?’ भनेर याचना गर्न उनको अफिस धाउँछन् ।

शारीरिक रुपमा पनि यो पेशा उनलाई फिट भइरहेको थिएन । माउण्टेन टुरिज्म बाध्यता थियो । समय वित्दै जाँदा उनले भरिया, एसिष्टेण्ट गाइड, कुक भएर काम गरे । यो क्षेत्रमा उनको माया बस्दै गयो ।

उनले टुर गाइड, ट्रेकिङ गाइड तालिम पनि लिए । उनीसँग सबै पर्यटक खुसी थिए । पर्यटकले उनलाई नै खोज्न थाले । ‘राजको भाषा राम्रो छ, धेरै जानकारी दिन्छ, उसको तरिका राम्रो छ, युवा छ, तेजिलो र छिटो छ, सहयोगी छ ।’ उनका बारेमा यस्ता कुरा आउन थाले ।

सन् २००८ मा वर्किङ भिजामा विदेश जाने र अलिकति पैसा कमाएर नेपाल फर्कने सोच पलायो । 

सोचेझैं जिन्दगी भएन । यो सिलसिलामा पनि उनी ठगीमा परे । 

त्यसको एक वर्षपछि कैलाश टुर गए ।

त्यो टुरका क्रममा पर्यटकले उनको चिन्ता गरेछन् । भनेछन्, ‘मेरो देशमा आऊ, केही समय काम गर । मेरै घरमा बस । म अलिक सहयोग गर्छु ।’ उनले चाहिँ, व्यापारमा सहयोग गर न त, म यतै नेपालमै काम गर्छु भनेछन् । कैलाश टुरले उनलाई पर्यटन व्यवसायी बनायो । सम्झिन्छन्, ‘उनीहरुले पनि मलाई लोन दिए । नेपालीहरुसँग पनि लिएँ । अनि सुरु भयो, एड्भेन्चर मिसन नेपाल ट्रेक ।’

अबको संघर्ष व्यावसायिक रुपमा सुरु भयो । 

उनी व्यावसायिक अनुभव सुनाउँछन्, ‘फिल्डमा गाइड मात्र थिएँ । प्रविधिको ज्ञान थिएन । सुरुमा धेरै कठिनाइ भयो । पेशागत रुपमा कस्ट म्यानेज गर्न पनि मुस्किल भयो । ०७२ सालको भुकम्प र नाकाबन्दीको धक्काले पनि धेरै दुःख दियो । जिन्दगीको उतारचढाव जारी रह्यो ।’ उनलाई लाग्छ, ‘पोलिसी, सिस्टममा सहज बनाउनुपर्छ । नेपाल सानो र सुन्दर छ । सम्भावना अत्यन्त धेरै छ । भएका कुरालाई सही व्यवस्थापन गर्न सके हुने थियो ।’

himalayantrekkers.com आजको व्यावसायिक नाम र डोमेन । राजको पर्यटन व्यवसायको राजमार्ग ।

पर्यटन क्षेत्रको २ दशक यात्रा गरेर व्यावसायिक रुपमा एक दशक विताएका छन् उनले । 

‘समय, पैसा र उर्जा बोकेर सात समुन्द्र पारिबाट यात्राको सुन्दर सपना बोकेर आएको हरेक पर्यटकले म र मेरो देशप्रति राख्ने भावना सकारात्मक र सुन्दर होओस् । त्यसकै लागि खटिरहेको छु ।’ राज भन्छन् ।

नरेन्द्रकुमार नगरकोटी

Share Now