१७ सय लगानीमा सुरु गरेको व्यवसायबाट करोडपति!

‘आफैंले केही गर्नुपर्छ’ भन्ने बलियो सोचले सपनालाई साकार बनाउँन सघाउँछ ।’

मानिसको सपना उमेर बढेसँगै बदलिँदै जान सक्छ । तर ‘आफैंले केही गर्नुपर्छ’ भन्ने बलियो सोचले सपनालाई साकार बनाउँन सघाउँछ । यस्तै सोच भएका युवा विधानन्द झाको सपनाको कथा कस्तो छ त ? 

विधानन्द काठमाडौंको एउटा मोबाइल पसलमा काम गर्थे । उनको ध्यान भने विषादी पसलहरुमा थियो ।

घरघरमा किराका कारण समस्या भएका कथाहरु उनलाई थाहा थियो । आफैंले विषादी किनेर प्रयोग गर्दा झन् थप समस्या झेलेको घटनाहरु पनि उनले देखे–सुनेका थिए । हरेक दिन उनी यसको समाधान सोच्थे ।

एक दिन उनले यही क्षेत्रमा काम गर्ने निर्णय गरे । र, इन्टरनेटमा यसबारे खोजी गर्न थाले । खोज्दा के पनि भेटियो भने किट नियन्त्रणको काम व्यवसायिक रुपमा गर्न सकिने रहेछ । यसका लागि कम्पनी दर्ता गरेर काम गरेका तथ्यहरू पनि पत्ता लाग्यो । उनले जागिर छाड्ने निर्णय गरे । 

तर, उनको पर्समा त्यतिबेला जम्माजम्मी १७ सय रुपैयाँ मात्र थियो । त्यति पैसाले कसरी व्यवसाय गर्ने ? 

उनी, सानो पूँजी लगानीबाट पनि व्यवसाय आरम्भ गर्न सकिन्छ भन्ने सोचले काम थाले । र, यो व्यवसायका बारेमा केही दिन थप अध्ययन गरे । काम गर्न सक्छु भन्ने भएपछि उनले आफुसँग भएको पैसाबाट आवश्यक उपकरण किनेर काम थाले ।उनको पहिलो कमाइ थियो, मुसा नियन्त्रणको कामवापत पाएको १२ हजार रुपैयाँ ।

तर, एकदिन मुसाले तार काटिदिएछ । उनी सुनाउँछन्, ‘पैसा लिएर खर्च गरिसकियो । पैसा फिर्ता दिन पनि सकिन्न । के गर्ने के भयो । तनाव भएर राती निद्रा नै लागेन । अनि मैले त्यहाँको समस्याको थप अध्ययन गरेँ र समाधान गर्न सकेँ । अनि सन्तोषको सास फेरेँ ।’ उनी थप्छन्, ‘मुसा मात्र नभएर कुनै पनि किराको नियन्त्रण गर्न एउटै मात्र उपायले हुँदैन । त्यसका लागि पूर्व–अध्ययन जरुरी छ । जस्तो कि, त्यहाँ मुसाले फेरि तार काटेर समस्या पार्नुमा के कारण होला भनेर थप अध्ययन गरेपछि मात्र मैले पत्ता लगाएँ कि त्यहाँ त अर्को बाटो भएर नयाँ मुसा आएको रहेछ ।’ मुसा हिँड्ने बाटो छेकिने गरी तार राखिएको पनि उनले भेटे । वषौंको अनुभवपछि आज भने यस्तो समस्या नै नआउने गरी काम गरिरहेको उनी सुनाउँछन् ।

सन् २०१५ मा रजिष्टर्ड कम्पनीको आवश्यकता महसुस गरी दर्ता गरे, ओरेञ्ज बल प्रालि । आफ्नो टोलकै साथी अमर श्रेष्ठ पनि जोडिए, राम्रै कमाइ भएको काम छाडेर । यो कामको नेतृत्व गर्नका लागि अध्ययन जरुरी थियो । विधानन्दले पहिल्यै व्रिटिस काउन्सिलबाट अनलाइन कोर्स गरिसकेका थिए । स्वअध्ययनबाट पनि निरन्तर धेरै कुरा सिकिरहेका थिए भने अनुभवबाट झन् धेरै ज्ञान र सीप हासिल भइरहेको थियो ।

‘इन्जिनियरले बनाइदिएको नक्सा अनुसार राम्रो घर बनाउने त मिस्त्रीले हो नि । त्यसैले हामीलाई लाग्छ, अनुभवको मूल्य धेरै छ । किट नियन्त्रणको क्षेत्रमा हाम्रो अनुभव नै ठुलो कलेज भइदियो,’ अमर भन्छन् ।

उनीहरुले यस विषयमा सरकारी तालिम पनि लिएका छन् ।

विधानन्द झा र अमर श्रेष्ठसँगै सिजन कार्की पनि थपिए । हाल यिनै तीन जना लगानीकर्ताको नेतृत्वमा १३ जनाको टोली सक्रिय रुपमा कार्यरत छ । विधानन्द सुनाउँछन्, ‘अटोमेसन छ अहिले कम्पनीमा । हामी नभए पनि काम सञ्चालन भइरहेको हुन्छ । कम्पनीको भ्यालु एक करोड बढी पुगिसकेको छ । हामी उत्साहित छौं ।’

अमर भन्छन्, ‘हाल चाहिँ सरसफाइ, स्यानिटाइजेसन र डिस्इन्फेक्सन गर्ने सेवाको बढी माग छ । हाम्रो सेवा लिन प¥यो भने वेबसाइटमा गएर वा सिधै फोनकलबाट पनि कन्फर्म गर्न सकिन्छ । न्यूनतम ३ हजारदेखि हाम्रो सेवा लिन सकिन्छ ।’

किरा नियन्त्रण गर्दै अहिले भाइरस नियन्त्रणको काम गर्दा विधानन्दलाई लाग्छ, ‘यो दुरदर्शी काम सुरु गरिएको रहेछ । कैयौं मानिसको जीवनको समस्या समाधान गर्न सक्दा खुसी लाग्छ,’ विधानन्द झा भन्छन्, ‘रातको निद्रा, दिनको चैन हराएकाहरूका लागि अचुक उपाय हो ओरेञ्ज बल प्रालिको पेष्ट कन्ट्रोलको काम ।’

सन्तुष्टि दिने कुरा सम्झिँदै अमर श्रेष्ठ भन्छन्, ‘कहिलेकाहीँ यस्तो फोन आइरहेको हुन्छ, बार्गेनिङ वा अरु कुनै पनि कुरा नगरी मेरोमा कहिलेका लागि टाइम मिल्छ ? छिटो गरौं न भन्दै । सक्दो चाँडो सेवा लिन चाहनेहरूको फोन आउनुमा कारण हुनेरहेछ, सन्तुष्ट सेवाग्राहीको सिफारिस । यस्तो कुराले चाहिँ काममा उर्जा दिन्छ, हौसला मिल्छ ।’

विधानन्द सफलता सुनाउँछन्, ‘करीब ३ वर्षअघि एउटा कम्पनीको भान्छामा एकदम समस्या भएछ । सेफ नै हैरान हुनेगरी । समस्या के भने, खानामा किरा परेको परै । यसैकारण उनलाई कारबाही नै हुन लागेको रहेछ । ओरेञ्ज बलको सेवापछि त्यहाँको समस्या पूरै समाधान भयो ।’ सेफको रोजगारी नै जोगिएको घटना सम्झिँदै उनी सन्तुष्टि पोख्छन्, ‘यस्तै सफलताले हाम्रो कामको मूल्य पुष्टि हुन्छ । पीडा त भोग्नेलाई मात्र थाहा हुन्छ नि ।’

कहिलेकाहीँ यो काम छाडिदिउँ कि भन्ने नलागेको पनि होइन । अर्को काम गरेको भए, विदेश गएको भए अझै बढी कमाइन्थ्यो कि भन्ने सोच पनि बेलाबेला पलाए । यस्तो बेलामा उनीहरुलाई उत्प्रेरित गर्ने सेवाग्राहीका मुस्कान नै हुन् । सन्तुष्ट सेवाग्राहीको उत्साप्रद प्रतिक्रियाले खुसी दिन्छ, जाँगर थप्छ । र त, ‘नेपालमै केही गरौं’ भन्नेको लागि उदाहरण बनेको छ ओरेञ्ज बल ।

‘पेष्टसँग हैन ‘पेष्ट मेण्टालिटी’ (मन विकार नै विकारले भरिएको, सकारात्मक कहिल्यै नसोच्ने बानी) भएका मानिसका कारण दुःख छ । मानिसहरुलाई बुझाउन, सचेत बनाउन हामी काम गरिरहेका छौं ।’ अमर भन्छन्, ‘अरु सबैजनाको व्यवसाय राम्रो भयो भने हाम्रो पनि राम्रो हुने हो । अहिले कोविडका कारण हामी पनि ६ महिना विनाकाम बस्यौं । अनि हामीले नयाँ धार समायौं । मास्क, स्यानिटाइजर, थर्मोगन जस्ता कुरा सप्लाई गरेर संकटको बेलामा आयआर्जन ग¥यौं ।’ अमर थप्छन्, ‘लकडाउनको बेलामा कसरी काम गर्ने भन्ने हामीले पहिले नै अध्ययन गरिसकेका थियौं ।’

किन यस्तो जोखिमपूर्ण काममा लागेको भन्ने सवालमा विधानन्द भन्छन्, ‘गुणस्तरीय पेष्ट कन्ट्रोलको सेवा दिन हामी यहाँ छौं । विषादी खाएपछि मरिन्छ भन्ने कुरा प्रमोट नगरौं । यसको दुरुपयोग पनि त हुनसक्छ । त्यसैले त्यस किसिमको खरीद बिक्री पनि हुन नपाओस् भनेर हामी काम गर्दैछौं ।’ यसमै अमर थप्छन्, ‘पेष्टको कारण र जथाभावी विषादीको प्रयोग गर्दा नै स्वास्थ्यमा समस्या आउने हो । त्यसो नहोस् भन्नका लागि हाम्रो सेवा आवश्यक हुन्छ ।’

घरमा वा अफिसमा उडुस, उपियाँ, सांग्ला, मुसा वा अन्य किराहरुका कारण बेचैन हुनुहुन्छ ? आफूले अनेक प्रयत्न गर्दा पनि समस्या ज्यूँका त्यूँ छ ? वा, कोविड १९ को संक्रमणको समय छ, सरसफाइ, स्यानिटाइजेसन र डिस्इन्फेक्सनका लागि कोही खोज्दै हुनुहुन्छ ? विधानन्द भन्छन्, ‘अब चिन्ता लिनु परेन, ओरेञ्ज बलमा कल गर्ने । समस्या समाधान हुन्छ । समस्या नदेखिनु समस्या नहुनु होइन । उडुसले रातभरि टोक्छ, दिउँसो देखिन्न । अन्य खतरनाक किराहरुले पनि नदेखिइकन असर गरिरहेको हुनसक्छ । त्यसैले, वर्षमा कम्तीमा एकपटक स्यानिटाइज गर्न सुझाव दिन्छौं,’। शरीरको होलवडी चेकअप गरेजस्तै यो पनि अत्यावश्यक हो । ओरेञ्ज बल प्रालिको मुख्य कार्यालय बसुन्धरामा र सम्पर्क कार्यालय न्यूरोड र पुल्चोक रहेकोले उपत्यकामा यो सेवा लिन सरल भएको उनि वताउछन् । अन्य मुख्य शहरहरु पोखरा, विरगञ्ज, चितवन, विराटनगर र नेपालगञ्जमा फोन कलको आधारमा सेवा लिन सकिन्छ । 

नरेन्द्रकुमार नगरकोटी

Share Now